Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

चेम्बर अफ ईण्डष्ट्रिज मोरङ सिआईएमद्धारा उद्योग व्यवसायका प्रमुख समस्या प्रस्तुत, नीतिगत सम्बोधनका लागि रास्वपाको पहल गर्ने प्रतिबद्धता

October 26, 2026

Programs
चेम्बर अफ ईण्डष्ट्रिज मोरङ सिआईएमद्धारा उद्योग व्यवसायका प्रमुख समस्या प्रस्तुत, नीतिगत सम्बोधनका लागि रास्वपाको पहल गर्ने प्रतिबद्धता Download

विराटनगर, २०८३ आश्विन ८ गते

उद्योग व्यवसायमा देखिएका नीतिगत जटिलता, उत्पादन लागतमा वृद्धि, निर्यातमा अवरोध र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको विषयमा उद्योग संगठन मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको ध्यानाकर्षण गराएको छ । संगठनमा आयोजित छलफलमा रास्वपाका अर्थ विभाग प्रमुख माननीय लिमा अधिकारीले उद्योगी व्यवसायीका समस्या समाधानका लागि पार्टी तथा संसद्मार्फत आवश्यक नीतिगत पहल गर्ने र निजी क्षेत्रसँग निरन्तर संवाद कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा रास्वपाका अर्थ विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य श्री रोहन कार्की, केन्द्रीय सदस्य श्री विजय जैरु, केन्द्रिय सदस्य निशा श्रेष्ठ, संघीय संसद् सदस्य माननीय रुबिना आचार्य, रास्वपा मोरङ जिल्ला सचिव दिवश नेपाल लगायत नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष श्री भोलेश्वर दुलालले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक तथा नीतिगत समस्याहरू प्रस्तुत गर्दै औद्योगिक विकास, उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनका लागि आवश्यक सुधारका विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले हुलाकी राजमार्गको कटहरी–विराटनगर खण्डको निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरीय विद्युत् आपूर्ति, उधारो कारोबार व्यवस्थापनका लागि छुट्टै ऐन, चेक अनादरसम्बन्धी व्यवस्था, कर्जा प्रक्रियाको सरलीकरण, जी.आई. तार उद्योगको कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क हटाउने, विद्युत्मा लाग्ने भ्याट पुनरावलोकन, स्वदेशी उत्पादनलाई ठूला परियोजनामा प्राथमिकता, वातावरणीय अध्ययन प्रक्रियाको सरलीकरण, आईसीपी कार्गो रेलको नियमित सञ्चालन तथा खुला सिमानाको प्रभावकारी व्यवस्थापन लगायतका विषय उठाउनुभयो । साथै, निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जुट उद्योग संघका अध्यक्ष श्री राजकुमार गोल्छाले नेपाली जुट उद्योगको निर्यातमा देखिएका समस्या तथा भारतको पछिल्लो निर्णयबाट उद्योगमा पर्न सक्ने असरबारे जानकारी गराउँदै उद्योगको संरक्षण र निर्यात समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायमार्फत तत्काल आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । त्यसैगरी, संगठनका निवर्तमान अध्यक्ष श्री राकेश सुराना, उपाध्यक्ष श्री सुरेन्द्र गोल्छा तथा कार्यसमिति सदस्यहरू श्री सृजन प्याकुरेल, श्री किरण व्यास र श्री सन्तोष भगतलगायतले उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न समस्या र नीतिगत सुधारका सुझाव प्रस्तुत गर्नुभयो । छलफलमा उठेका विषयहरूलाई सम्बोधन गर्दै रास्वपाका अर्थ विभाग प्रमुख माननीय श्री लिमा अधिकारीले उद्योग व्यवसायका समस्या समाधानका लागि पार्टी तथा संसद्मार्फत आवश्यक नीतिगत पहल गर्ने र निजी क्षेत्रसँग निरन्तर संवाद कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग संगठन मोरङले उद्योगी व्यवसायीका समस्या पहिचान, प्रमाणमा आधारित नीतिगत पैरवी तथा राजनीतिक दल र सरकारसँग रचनात्मक संवादमार्फत औद्योगिक विकास, स्वदेशी उत्पादनको प्रवद्र्धन र लगानीमैत्री वातावरण निर्माणका लागि आफ्नो पहललाई निरन्तरता दिने जनाएको छ ।

उद्योग संगठन मोरङ विराटनगर, नेपाल