प्रेस विज्ञप्ति
बिराट एक्स्पो २०२६ : अवसरहरू जोड्ने र प्रभाव सिर्जना गर्ने एकीकृत व्यावसायिक प्लेटफर्म
विराटनगर, २०८३ कार्तिक १९
उद्योग संगठन, मोरङद्वारा आयोजना हुन लागेको नवौँ संस्करणको बिराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरस्थित डिग्री क्याम्पसमा आयोजना हुने भएको छ। एक्स्पोको थिम “The Ecosystem of Opportunities” र अभियानको नारा “Connecting Opportunities. Creating Impact.” तय गरिएको छ।
यसपटकको एक्स्पोलाई परम्परागत व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी उद्योग, व्यवसाय, लगानी, सीप, प्रविधि, नवप्रवर्तन र बजारलाई एकै ठाउँमा जोड्ने एकीकृत Business Ecosystem Platform का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विद्यार्थीलाई सिकाइ र करियरसँग, युवालाई रोजगारी र उद्यमशीलतासँग, उद्यमीलाई बजार र लगानीसँग तथा उद्योगलाई प्रविधि र व्यावसायिक साझेदारीसँग जोड्ने एक्स्पोको मुख्य सोच रहेको छ।
एक्स्पोका संयोजक बिपिन काबराका अनुसार यस अवधारणालाई व्यवहारमा उतार्न एक्स्पोलाई पाँचवटा प्रमुख प्लेटफर्ममा विभाजन गरिएको छ।
पाँच प्रमुख प्लेटफर्म
१. Learn for the Future
विद्यार्थी तथा युवालाई भविष्यको शिक्षा, सीप र करियरका अवसरसँग जोड्ने उद्देश्यले यस प्लेटफर्ममा करियर परामर्श, उद्योग तथा व्यावसायिक संस्थाहरूको प्रस्तुति, रोजगारीसम्बन्धी जानकारी र व्यावहारिक सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ। औद्योगिक सीप, अटोमेसन, आर्टिफिसियल इन्टेलिजेन्स, गार्मेन्ट तथा फेसन डिजाइन, कृषि, होटल तथा हस्पिटालिटी, ब्युटी एन्ड वेलनेस र स्वास्थ्यलगायत आठवटा क्षेत्रमा तालिम तथा प्रदर्शनको व्यवस्था गरिनेछ।
२. Startup & Entrepreneurship Pavilion
नयाँ सोचलाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यले यस पभेलियनमा तीनवटा चरणका गतिविधि सञ्चालन हुनेछन्। Maker Space मा नयाँ विचार, सिर्जना र प्रोटोटाइप विकास; Boot Camp मा व्यावसायिक अवधारणा तथा बिजनेस मोडेल निर्माण; र Growth Space मा विकासोन्मुख उद्यमलाई बजार, ब्रान्डिङ, व्यावसायिक सञ्जाल तथा सम्भावित लगानीकर्तासँग जोड्ने प्रयास गरिनेछ। यस प्लेटफर्मलाई बिराटनगर इन्क्युबेसन सेन्टरसँग समेत जोडिनेछ।
३. BDS Connect – Business Development Services
व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक विभिन्न व्यावसायिक सेवाहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्म तयार गरिएको हो। व्यवसाय दर्ता तथा कानुनी परामर्श, ट्रेडमार्क तथा बौद्धिक सम्पत्ति, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण तथा प्रमाणीकरण, वातावरणीय परामर्श, लजिस्टिक्स, डिजिटल सेवा र बजार पहुँचसम्बन्धी सेवा प्रदायकहरूलाई व्यवसायीसँग जोडिनेछ।
४. Birat Business Summit 2026 – Opportunity Connect
एक्स्पोकै अवधिमा पुस ६ देखि ८ गतेसम्म तीनदिने बिराट बिजनेस समिट आयोजना हुनेछ। Find a Partner. Find a Market. Find an Opportunity. भन्ने अवधारणामा आधारित समिटले व्यवसायी, लगानीकर्ता, उत्पादक, खरिदकर्ता तथा विभिन्न क्षेत्रका संस्थाबीच व्यावसायिक सम्बन्ध र साझेदारीका अवसर सिर्जना गर्नेछ।
समिटका तीन दिनलाई Invest & Build, Connect & Expand तथा Influence & Grow विषयमा केन्द्रित गरिनेछ। लगानीका सम्भावना, बजार विस्तार, खरिदकर्ता तथा आपूर्तिकर्ताबीचको सम्बन्ध, अन्तरप्रदेशीय व्यापार, नेपाल–भारत तथा नेपाल–बंगलादेश व्यावसायिक सम्बन्ध र नीतिगत सुधारका विषयमा छलफल हुनेछ।
समिटको विशेष आकर्षणका रूपमा Opportunity Wall रहनेछ। यसमा विभिन्न जिल्ला तथा स्थानीय चेम्बर, उद्योग, व्यवसायी र उद्यमीले आफ्ना लगानी, उत्पादन, बजार, प्रविधि तथा साझेदारीका प्रस्ताव र आवश्यकता प्रस्तुत गर्न सक्नेछन्। यसले सम्भावित साझेदार, लगानीकर्ता, खरिदकर्ता र सेवा प्रदायकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
५. Business Exhibition & Experience
एक्स्पोको मुख्य प्रदर्शनी क्षेत्रमा औद्योगिक उत्पादन, व्यापारिक वस्तु तथा सेवा, कृषि तथा साना उद्यम, खाद्य परिकार, अटोमोबाइल, प्रविधि, तालिम तथा अन्य व्यावसायिक सेवाहरूको प्रदर्शनी र अनुभव लिन सकिनेछ। यसपटक २७५ भन्दा बढी स्टल रहने योजना छ।
विशेषगरी सुनसरी–मोरङ औद्योगिक करिडोरका उत्पादन तथा प्रविधि, कोशी प्रदेशका १४ जिल्लाका कृषि उत्पादन, महिला उद्यमी, घरेलु तथा साना उद्योग र नयाँ उद्यमहरूलाई विशेष स्थान दिइनेछ।
२ लाख ५० हजार आगन्तुकको लक्ष्य
आयोजकले एक्स्पोमा करिब दुई लाख ५० हजार आगन्तुक सहभागी गराउने लक्ष्य राखेको छ। त्यस्तै, २५ हजार विद्यार्थीलाई जोड्ने, १,५०० भन्दा बढी व्यावसायिक भेटघाट तथा सम्पर्कका अवसर सिर्जना गर्ने, दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र कम्तीमा २० वटा उद्यम तथा लगानीयोग्य परियोजनालाई सम्भावित लगानीकर्तासँग जोड्ने लक्ष्य लिएको छ।
मस्कट ‘आशा’ सार्वजनिक
थिम लञ्चसँगै एक्स्पोको मस्कटका रूपमा डल्फिनलाई प्रस्तुत गरिएको छ। ‘आशा’ नाम दिइएको यस मस्कटले नयाँ सम्भावना, सकारात्मक सोच र उज्ज्वल भविष्यको आशालाई प्रतिनिधित्व गर्दछ। डल्फिन बुद्धिमत्ता, सहकार्य, मित्रता र सामूहिक गतिशीलताको प्रतीक भएकाले एक्स्पोको एकीकृत इकोसिस्टम अवधारणासँग यसको सम्बन्ध रहेको आयोजकले जनाएको छ। आशालाई विद्यार्थीलाई सिकाइ, युवालाई रोजगारी, उद्यमीलाई बजार र नयाँ उद्यमलाई लगानीका अवसरसँग जोड्ने मैत्रीपूर्ण मार्गदर्शकका रूपमा परिकल्पना गरिएको छ।
प्रायोजक तथा साझेदार संस्थाहरू
एक्स्पोको टाइटल स्पोन्सरका रूपमा Extreme Energy Drinks र Power By Partner का रूपमा Century आबद्ध भएका छन्। Diamond श्रेणीमा Magic Footwear र Shikhar Insurance, Gold श्रेणीमा Nabil Bank र NLG Insurance तथा Silver श्रेणीमा PAO Lub Oil, Sangrila Shoes, Cello, Siddhartha Premier Insurance, Rizal’s Food र Kabra Group रहेका छन्।
त्यस्तै, कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका र FNCCI कोशी प्रदेश प्रवर्द्धक संस्थाका रूपमा आबद्ध छन्। मोरङ उद्योग व्यापार संघ, डिग्री क्याम्पस विराटनगर, विराट व्यापार संघ र नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरलगायतका संस्थाहरूको पनि सहयोग तथा सहकार्य रहनेछ।
प्रवेश व्यवस्था
एक्स्पो हरेक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश शुल्क रु. २०० निर्धारण गरिएको छ। विद्यालय पोसाकमा आउने विद्यार्थी तथा विद्यालय वा कलेजको समूहमा आउने विद्यार्थीलाई दिउँसो २ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
उद्योग संगठन, मोरङले बिराट एक्स्पो २०२६ लाई केवल वस्तु तथा सेवाको प्रदर्शनी नभई अवसरहरू पहिचान गर्ने, सरोकारवालालाई जोड्ने, व्यावसायिक साझेदारी विकास गर्ने र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने साझा प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि उद्योगी, व्यवसायी, लगानीकर्ता, शैक्षिक संस्था, युवा, विद्यार्थी, सरकारी निकाय, सञ्चारमाध्यम तथा आम नागरिकको सक्रिय सहभागिताका लागि आयोजकले आह्वान गरेको छ।
आयोजक: उद्योग संगठन, मोरङ
विराटनगर, कोशी प्रदेश, नेपाल