२२ असोज २०८३, विराटनगर
उद्योग संगठन मोरङ अन्तर्गतको उद्यमशीलता तथा नवप्रवर्तन इकाइको आयोजनामा सञ्चालित चारदिने डिजाइन एण्ड थिङ्किङ कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका २० जना विद्यार्थी सहभागी थिए । उनीहरूले उत्पादन, कृषि, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या पहिचान गरी तिनको सम्भावित समाधानका लागि विभिन्न विकल्प सहितको प्रोटोटाइप तयार गरि आफनो अवधारणा प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले उद्योगका जटिल समस्या परम्परागत सोच र अभ्यासबाट मात्रै समाधान गर्न कठिन हुने बताउनुभयो । उद्योगको आवश्यकता र शैक्षिक क्षेत्रको ज्ञान तथा सिर्जनशीलतालाई एकै ठाउमा ल्याउन डिजाइन थिङ्किङ जस्ता कार्यक्रम प्रभावकारी हुने उहँको भनाइ थियो । अध्यक्ष्ँ राठीले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी भविष्यमा रोजगारी सिर्जना गर्नसक्ने उद्यमीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोले प्रदेशलाई उद्यमशील बनाउने अभियानमा युवा पुस्ताको सीप, सिर्जनशीलता र नवप्रवर्तनलाई उद्योगसंग जोड्नुपर्ने बताउनुभयो । उहाले कृषि, उद्योग तथा व्यवसायका क्षेत्रमा प्रदेशमा रहेका सम्भावनालाई प्रविधि र नवप्रवर्तनसंग जोड्न सके स्थानीय स्रोतसाधनको प्रभावकारी उपयोगसंगै उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाको औद्योगिक विकासलाई थप गतिशील बनाउन युवाको ज्ञान, सीप र सिर्जनात्मक क्षमतालाई व्यवहारमा उपयोग गर्नुपर्ने बताउनुभयो । चार दिने कार्यशालामा सहभागि भएका विद्यार्थीमा विकास भएको समस्या पहिचान तथा समाधान गर्ने क्षमताले भविष्यमा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणमा योगदान पु¥याउने भनाइ थियो ।
संगठनका कार्यसमिति सदस्य तथा उद्यमशीलता तथा नवप्रवर्तन इकाइका संयोजक प्रतीक राउतले उद्योग र शैक्षिक संस्था बीचको सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्नुपर्ने आवश्यकता औल्याउदै विद्यार्थीको सिर्जनात्मक अवधारणालाई उद्योगसम्म लैजाने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो । उहाले विद्यार्थीले तयार पारेको प्रोटोटाइपलाई अन्तिम उपलब्धिका रूपमा नभई व्यवसायिक पहलको प्रारम्भिक आधारका रूपमा लिनुपर्ने वताउनु भयो ।
समापनमा विद्यार्थीहरूले प्रस्तुत गरेका प्रोटोटाइपले उद्योग तथा व्यवसायका समस्या र चुनौतीलाई नया पुस्ताले कसरी विश्लेषण गर्छ र त्यसका लागि कस्ता सिर्जनात्मक समाधान पहिचान गर्न सक्छ भन्ने देखाएको उद्योग संगठन मोरङले जनाएको छ ।