Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

अब काठमाडौंमा मात्रै होइन, स्थानीय तहबाटै उठाउने महासंघको प्रतिबद्धता

October 6, 2026

Press Release
अब काठमाडौंमा मात्रै होइन, स्थानीय तहबाटै उठाउने महासंघको प्रतिबद्धता Download

Download
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिले उद्योगी–व्यवसायीका समस्या स्थानीयस्तरमै पुगेर बुझ्ने र समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौं बाहिर पहिलोपटक विराटनगरमा बसेको समितिको बैठकले कोशी प्रदेशका उद्योगी–व्यवसायीले भोगिरहेका समस्या, चुनौती र तिनको समाधानका उपायबारे छलफल गर्दै औद्योगिक वातावरण सुधारका लागि सरकारसँग परिणाममुखी संवाद आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

उद्योग संगठन मोरङको सचिवालयमा समितिका सभापति उज्जल श्रेष्ठको संयोजनमा भएको बैठकमा कमजोर बजार माग, उच्च उत्पादन लागत, घट्दो लगानी, पूर्वाधारको अभाव, निर्यातमा देखिएका समस्या तथा व्यावसायिक मनोबलमा आएको गिरावटलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले काठमाडौंमै सीमित नभई उद्योगी–व्यवसायीका समस्या बुझ्न महासंघ स्थानीय तहसम्म पुग्नु सकारात्मक भएको बताए । निजी क्षेत्रको वास्तविक अवस्था र भोगाइलाई राष्ट्रिय नीतिगत बहससँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

महासंघ निजी क्षेत्रको सामूहिक आवाज भएकाले उद्योग–व्यवसाय क्षेत्रका समस्या तथ्य, तथ्यांक, अध्ययन तथा समाधानका विकल्पसहित सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने राठीले बताए । उद्योग क्षेत्रले भोग्दै आएको कमजोर बजार माग र उच्च उत्पादन लागत घटाउन सरकार र निजी क्षेत्रबीच परिणाममुखी संवाद आवश्यक रहेको उनले बताए ।

औद्योगिक वातावरण सुधारका लागि नीतिगत तहबाटै ठोस पहल गर्नुपर्नेमा जोड दिँदै राठीले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले लगानी, उत्पादन र बजार विस्तारमैत्री नीति अघि बढाउनुपर्ने धारणा राखे ।

समितिका सभापति श्रेष्ठले उद्योगी–व्यवसायीका समस्या प्रत्यक्ष सुन्ने, उद्योगको स्थलगत अवलोकन गर्ने र स्थानीयस्तरमा देखिएका समस्या नीतिगत तहमा पुर्‍याउने अभ्यासलाई निरन्तरता दिने बताए ।

काठमाडौं बाहिर पुगेर उद्योगी–व्यवसायीको वास्तविक अवस्था बुझ्दा महासंघले सरकारलाई दिने सुझावमा स्थानीय समस्या, अनुभव र आवश्यकतालाई समेट्न सहज हुने उनको भनाइ थियो ।

श्रेष्ठले उद्योग संगठन मोरङले सञ्चालन गरेका विराटबजार, व्यवसाय उपचार केन्द्र, औद्योगिक अनुभव क्षेत्र तथा व्यवसाय प्रवर्द्धन केन्द्रजस्ता कार्यक्रमको प्रशंसा गरे । यस्ता पहलले उद्योगको प्रवर्द्धन, नयाँ सोच र प्रविधिको प्रयोग तथा बजार विस्तारमा योगदान पुर्‍याउने उनले बताए ।

उद्योग संगठन मोरङका गतिविधि अन्य उद्योग वाणिज्य संघका लागि समेत अनुकरणीय रहेको श्रेष्ठले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग–व्यवसाय क्षेत्र कमजोर बजार माग, घट्दो लगानी र व्यावसायिक मनोबलमा आएको कमीका कारण दबाबमा रहेको बताए । औद्योगिक पूर्वाधारको अभावले समेत उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाइरहेको उनको भनाइ थियो ।

उद्योगीको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र उत्पादन लागत घटाउने गरी नीतिगत सुधार आवश्यक रहेको राउतले बताए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले उद्योग क्षेत्रको पुनरुत्थानका लागि नीतिगत स्थायित्व, औद्योगिक पूर्वाधार निर्माण र निर्यात प्रवर्द्धनलाई महासंघले प्राथमिकतामा राख्नुपर्ने बताए ।

उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि संघीय सरकारसँगै प्रदेश र स्थानीय तहसँग समन्वय गरी स्पष्ट नीतिगत पहल अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

बैठकमा उद्योग समितिका उपसभापति सुयश प्याकुरेल, ऋषि अग्रवाललगायत समितिका सदस्य, उद्योग संगठन मोरङका पदाधिकारी तथा कार्यसमिति सदस्यको सहभागिता थियो ।