Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्षसँग अन्तरक्रिया

October 6, 2026

Press Release
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्षसँग अन्तरक्रिया Download

बुधबार, आश्विन १४, २०८३

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का केन्द्रीय अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूलाई उद्योग संगठन मोरङमा हार्दिक स्वागत गर्दै समसामयिक आर्थिक तथा औद्योगिक विषयमा अन्तरक्रिया गरियो। केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक संगठनमा पाल्नुभएको अवसरमा संगठनका अध्यक्ष श्री नन्दकिशोर राठीज्यूले स्वागतसहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू श्री नवीन रिजाल, श्री गोपाल श्रेष्ठ तथा श्री सुयश प्याकुरेलज्यूका साथै इटहरी उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्षज्यूको समेत उपस्थिति रहेको थियो।

अन्तरक्रियाका क्रममा संगठनका तर्फबाट समसामयिक आर्थिक तथा औद्योगिक विषयहरू, विशेषगरी उधारो कारोबारसम्बन्धी कानुन निर्माणमा भइरहेको ढिलाइ, विद्युत् सम्बन्धी समस्या, C/O (Certificate of Origin), औद्योगिक ग्राम तथा प्रदर्शनी स्थल लगायतका विषयमा जानकारी गराउँदै आवश्यक पहल तथा सहजीकरणका लागि अनुरोध गरियो।

सो अवसरमा उद्योग संगठन मोरङका विभिन्न कार्यक्रम तथा गतिविधिहरू प्रस्तुत गरिनुका साथै डिस्प्ले सेन्टर तथा स्थानीय उत्पादनको शोकेश, Business Clinic, BiratBazaar तथा Startup सम्बन्धी पहलहरू बारे जानकारी गराइयो। यी प्रयासहरूबाट प्रभावित हुनुभएका अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूले यस्ता कार्यक्रमहरू वास्तवमै चेम्बरले गर्नुपर्ने कार्य भएको उल्लेख गर्दै प्रशंसा गर्नुभयो।

विशेषगरी, उद्योग संगठन मोरङको Business Clinic लाई केन्द्रमा राखी नेपालभर विस्तार गर्ने प्रयास सुरु गरिएको जानकारी गराउँदै उहाँले एउटा जिल्लास्तरको चेम्बरले सफलतापूर्वक अभ्यासमा ल्याएको पहललाई केन्द्रमा अनुकरण गरी राष्ट्रियस्तरमा विस्तार गर्न खोजिएको यो एउटा अनुपम नमुना भएको उल्लेख गर्नुभयो र यसका लागि उद्योग संगठन मोरङप्रति आभार व्यक्त गर्नुभयो। उहाँले महासंघको उद्योग समितिले यस विषयमा आवश्यक काम अघि बढाइरहेको र चाँडै राष्ट्रियस्तरको Business Clinic सञ्चालनमा ल्याउने तयारी रहेको समेत जानकारी गराउनुभयो।