Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

उद्योगको लागत घटाई अर्थतन्त्र प्रतिस्पर्धी वनाउन मन्त्री समक्ष उद्योग संगठन मोरङको आग्रह

September 28, 2026

Press Release
उद्योगको लागत घटाई अर्थतन्त्र प्रतिस्पर्धी वनाउन मन्त्री समक्ष उद्योग संगठन मोरङको आग्रह Download

Download

 

२०८३ असोज ११, विराटनगर, उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह समक्ष सुझाव प्रस्तुत गर्दै औद्योगिक र आर्थिक समृद्धिका लागि उद्योगको लागत घटाउदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने वातावरण निर्माण भए मुलुकको अर्थतन्त्र थप सुदृढ र प्रतिस्पर्धी बन्ने धारणा राखेको छ ।

उद्योग संगठन मोरङको कार्यसमिति र मन्त्री साहबीच भएको छलफलमा संगठनका अध्यक्ष नन्द किशोर राठीले सुनसरी–मोरङ औद्योगिक करिडोर सहित समग्र औद्योगिक क्षेत्रको लागत, पूर्वाधार, निर्यात तथा प्रतिस्पर्धात्मक क्षमतासंग सम्बन्धित विषय प्रस्तुत गर्दै तत्काल नीतिगत सुधार र कार्यान्वयन तहमा प्रभावकारी पहल गर्न मन्त्री साह समक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष राठीले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर पुनरावलोकन गरी हटाउन माग गर्दै विद्युत् उद्योगको उत्पादन प्रक्रियाको आधारभूत आवश्यकता भएकाले विद्युतमा भ्याट थपिदा विशेषगरी निर्यातमूलक, साना तथा मझौला, खाद्य र औषधि उद्योगको उत्पादन लागत बढ्ने वताउनु भयो । त्यसैगरी उहाले सुनसरी–मोरङ औद्योगिक करिडोरमा सुख्खा याममा देखिने विद्युत् अवरोध, लो–भोल्टेज तथा ट्रिपिङको समस्या अन्त्य गरी गुणस्तरीय र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गर्नु भयो ।

भारतले नेपाली जुटजन्य वस्तुमाथि आगामी अक्टोबर देखि हालको भन्दा चार गुणासम्म बढी एन्टी–डम्पिङ शुल्क लगाउने विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न कूटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्नुभयो । भारतले कच्चा तथा तयारी खाने तेलको आयातमा महशुल घटाएसंगै नेपालबाट निर्यात हुदै आएको प्रशोधित तेलमा पर्नसक्ने प्रभावप्रति सरकारको ध्यानाकर्षण गराउदै नेपाली तेल उद्योगमा भएको लगानी, रोजगारी र निर्यात संरक्षणका लागि वैकल्पिक नीतिगत उपाय अवलम्बन गर्न संगठनले आग्रह गरेको छ ।

त्यसैगरी लामो समयदेखि निर्माण अलपत्र रहेको कटहरी–विराटनगर हुलाकी सडकको करिब ६ किलोमिटर खण्ड तत्काल सम्पन्न गर्न तथा सुनसरीको अमडुवामा प्रस्तावित विशेष आर्थिक क्षेत्र निर्माण प्रक्रिया शीघ्र अघि बढाउन पनि संगठनले सुझाव दिएको छ ।

उद्योग संगठन मोरङले औद्योगिक विकाससंग प्रत्यक्ष जोडिएका यी विषयमा आवश्यक समन्वय, निर्देशन तथा नीतिगत निर्णय गरी समयबद्ध रूपमा कार्यान्वयन गर्न मन्त्री साह समक्ष आग्रह गरेको जनाएको छ ।