Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

विराट एक्स्पोको नवौं संस्करण पुसमा

September 21, 2026

Events
विराट एक्स्पोको नवौं संस्करण पुसमा Download

विराटनगर — उद्योग संगठन मोरङले आगामी २ देखि ११ पुससम्म नवौं संस्करणको  विराट एक्स्पो आयोजना गर्ने भएको छ । उद्योग, व्यापार, प्रविधि, लगानी र उद्यमशीलतालाई एउटै मञ्चमा जोड्ने गरी एक्स्पोको तयारी अघि बढाइएको संगठनका अध्यक्ष नन्दकिशोरी राठीले जनाए ।

करिब ३ दशकदेखि आयोजना हुँदै आएको एक्स्पो पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधिको प्रमुख प्रदर्शनीका रूपमा स्थापित  छ । यसपटकको एक्स्पोलाई परम्परागत वस्तु तथा सेवा प्रदर्शनीभन्दा फराकिलो बनाउने तयारी गरिएको छ ।

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ । आयोजकले २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ । एक्स्पोलाई उत्पादन र सेवाको प्रदर्शनीसँगै लगानी, रोजगारी, उद्यमशीलता र नयाँ व्यावसायिक अवसर खोज्ने थलोका रूपमा विकास गर्ने लक्ष्य लिइएको उद्योग संगठन मोरङले जनाएको छ ।

यसैबीच, नवौं संस्करणको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक जोडिएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच बिहीबार विराटनगरमा मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको हो । म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा एक्स्पोसंग जोडिएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राठीले निजी क्षेत्रसँगको सहकार्यले एक्स्पोको प्रभाव र पहुँच विस्तार हुने बताए । उनका अनुसार एक्स्पोलाई उत्पादन तथा सेवाको प्रदर्शनमा मात्र सीमित नराखी उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसर जोड्ने साझा मञ्चका रूपमा अघि बढाउन खोजिएको छ ।

एक्स्पो संयोजक विपिन काबराले यसपटकको साझेदारीलाई ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नगरी एक्स्पोका विभिन्न गतिविधिसँग जोड्ने तयारी गरिएको बताए । एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले एक्स्पोको नवौं संस्करणसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताइन् ।