Second Events Testign | 30/07/2026 12:00 am | Koshi Campus Testing

News & Updates

Programs

उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न

उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न Download

विराटनगर । उद्योगहरूमा सुरक्षित र दक्षतापूर्वक बोइलर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको २० दिने ‘बोइलर सञ्चालन सम्बन्धी विशेष तालिम’ सम्पन्न भएको छ।

उद्योग संगठन मोरङको आयोजनामा सुनसरीको दुहबीस्थित एबीसी आयल उद्योगमा सो तालिम सञ्चालन गरिएको थियो । तालिममा विभिन्न उद्योग तथा प्रतिष्ठानहरूमा कार्यरत २० जना प्राविधिकहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई बोइलर सञ्चालनका सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीप समेत प्रदान गरिएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगहरूको उत्पादकत्व वृद्धि, ऊर्जा बचत र कार्यस्थलको सुरक्षाका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए । वर्तमान समयमा उद्योग क्षेत्रमा दक्ष जनशक्तिको अभाव एउटा ठुलो चुनौतीका रूपमा देखिएको छ, अध्यक्ष राठीले भने, ‘यस्ता तालिमहरूले सीपयुक्त जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।’

उनले औद्योगिक प्रविधिको विकास र आवश्यकताका आधारमा आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।  तालिमका प्रशिक्षकहरू किरण मण्डल र उदेश मोदीले बोइलरको आधारभूत सिद्धान्त, कार्य प्रणाली, सुरक्षित सञ्चालन प्रक्रिया र ऊर्जा दक्षता अभिवृद्धिका उपायहरूबारे प्रशिक्षण दिएका थिए ।

साथै, बोइलरको नियमित निरीक्षण, मर्मत सम्भार, सम्भावित जोखिम व्यवस्थापन र आपत्कालीन अवस्थाको सामना गर्ने विधिका बारेमा समेत सहभागीहरूलाई प्रयोगात्मक ज्ञान दिइएको प्रशिक्षकहरूले बताए ।

उद्योग संगठन मोरङले उद्योगहरूको आवश्यकता पहिचान गरी विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि दक्ष जनशक्ति विकासलाई प्राथमिकतामा राखेर अन्य प्राविधिक तालिमहरू सञ्चालन गरिने संगठनले जनाएको छ ।