27 Apr 2024, Saturday

News and Press Release

मंसिर २९ देखि विराट एक्स्पो हुने

30 Sep 2022

मंसिर २९ गते देखि विराटनगरमा विराट एक्स्पो आयोजना हुने भएको छ। आयोजक उद्योग संगठनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराट एक्स्पो (बृहत कृषि तथा औद्योगिक प्रदर्शनी ) आयोजना गर्ने तयारी गरेको जानकारी दिएको हो।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले मंसिर २९ देखि पुस ६ गते सम्म विराटनगर–१४ स्थित स्नाकोत्तर क्याम्पसमा एक्स्पोको आयोजना गर्न लागिएको बताए। ‘विराट एक्स्पोको सातौं संस्करण आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीकारुपमा आयोजना गर्न लागिएको छ ’ प्याकुरेलले भने। स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायिक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट  औद्योगिक प्रदर्शनीको सुरुवात गरेको थियो। २०६६ साल देखि दुई वर्षको अन्तरालमा विराट एक्स्पोको ब्राण्डमा बृहत औद्योगिक प्रदर्शनी सञ्चालन गर्दै आएको  जनाएको छ।

प्रदेश १ को कृषि, उद्योग र  पर्यटन क्षेत्रको विकासका लागि एक्स्पो प्रभावकारी माध्ययम हुँदै आएको एक्स्पो आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताए। दुलालका अनुसार प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न, उत्पादक, उपभोक्ता र मूल्य श्रृङ्खलाको परिधि भित्र पर्ने समग्र व्यवसायिक सेवा प्रदायकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बिक्रि वितरण तथा प्रचार प्रसारका लागि एक्स्पोले साझा मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ।  

यस पटक प्रर्दशनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरु, औद्योगिक मिलमेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्दतीको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल हुनेछ। यस्तै  अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकिय गन्तब्यको जानकारी तथा दैनिक प्याकेज टुर, खाना उत्सवलगायतका कार्यक्रमहरू समावेश गरिएको दुलालले जानकारी दिए। 

प्रदर्शनीमा  ४ सय १५ वटा स्टलहरु रहनेछन्। एक्स्पोमा भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीन लगायतका मुलुकका समेत व्यवसायिक  स्टलहरु रहने उद्योग संगठनको दाबी छ।  प्रदर्शनी नेपाल र भारतका करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको  दुलालले जानकारी दिए।  प्रदर्शनी अवधीमा  ५० करोड रुपैयाँ भन्दा बढिको प्रत्यक्ष एवं अप्रत्यक्ष कारोबार हुने छ। प्रदर्शनी आयोजनाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने  आयोजक समितिले जनाएको छ।